शुक्लाफाँटामा कुकुर आतंक: ४ लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका छन्। १०० भन्दा बढी कुखुरा घाइते बनाएका छन्।

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित आशा ऐरको कुखरा फार्मभित्र छिरेका कुकुरले चार लाख रुपैयाँभन्दा बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्‍याएका छन्।

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका हुन्। १०० भन्दा बढी कुखुरा घाइते छन्। “बैंकबाट १२ लाख रुपैयाँ कर्जा निकालेर अण्डा दिने एक हजार २०० कुखुरा पालेका थियौँ,” फार्म सञ्चालक आशाले भनिन्, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए। कुकुर फार्ममा छिरेर कुखुरा मारिदिएपछि ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छौँ।”

फार्ममा अब ५०० जति कुखुरा मात्रै बाँकी रहेको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको छ। नगरपालिका क्षेत्रमा सामुदायिक कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए।

“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो संख्यामा कुखुरा मारिदिए। बाटो हिँडने व्यक्तिलाई पनि झम्टिने गरेको छ,” उनले भने, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन्।” 

नगरपालिकाले कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले क्षतिपूर्तिको व्यवस्था गरिदिन लागि पनि आग्रह गरेका छन्।