काठमाडौँमा वर्षा, अन्तर्राष्ट्रिय उडान प्रभावित

प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

काठमाडौँ– काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन्। 

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ४.८ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् कँडेलले भनिन्, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।”

शुक्रबारदेखि देशको पश्चिम भेगबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने उनले उल्लेख गरिन्। “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ,” मौसमविद् कँडेलले भनिन्।

पानी परेपछि एक भारतीय उडान लखनउ ‘डाइभर्ट’
प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

बिहीबार अपराह्न भारतको मुम्बईबाट काठमाडौँ आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनउ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। 

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ। प्रवक्ता झाले भने, “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आईएफआर)बाट मात्रै उडान भइरहेको छ।”