ब्राजिलियन फुटबलर ड्यानी अल्भेस बलात्कार आरोपमा दोषी ठहर, ४ वर्ष जेल सजाय

४० वर्षीय अल्भेसले स्पेनिस क्लब बार्सिलोनाका लागि ४०० भन्दा धेरै पटक खेलेका छन्। उनी ब्राजिलको २०२२ को विश्वकप टोलीमा पनि थिए।

स्पेनको एक अदालतले ब्राजिलका पूर्व फुटबल खेलाडी ड्यानी अल्भेसलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ। अदालतको फैसलामा अल्भेसलाई साढे चार वर्षको जेल सजाय सुनाउनुका साथै पीडितलाई एक लाख ५० हजार युरो तिर्न आदेश भएको बीबीसीले जनाएको छ। 

घटना २०२२ डिसेम्बरको हो। बार्सिलोनाको रात्रि क्लबमा आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले अदालतमा मुद्दा हालेकी थिइन्। तर अल्भेसले भने आफूले बलात्कार नगरेको दाबी गर्दै आएका थिए। अदालतले उनका दाबीलाई गलत साबित गर्दै दोषी ठहर गरेको छ। एक विज्ञप्तिमा अदालतले पीडितको गवाही बाहेक अन्य प्रमाणहरू रहेको र ती प्रमाणले पीडितमाथि बलात्कार भएको पुष्टि हुने जनाएको छ।

अल्भेसका वकिलले उनलाई सफाइ दिन अदालतसमक्ष आग्रह गरेका थिए। सफाइ नमिलेपछि अब अल्भेसले सजायको विरुद्धमा पुनरावेदन गर्ने उनले बताए।

अल्भेस २०२३ को जनवरीदेखि पुर्पक्षका लागि हिरासतमा छन्। यसबीच उनले धेरैपटक आफ्नो बयान बदलेका छन्। शुरूमा आफूले बलात्कार नै नगरेको बताउने उनले पछि सहमतिमा यौन सम्पर्क राखेको बताएका थिए।

पीडित पक्षले नौ वर्षको जेल सजाय माग गरेको थियो। स्पेनमा यौन दुर्व्यवहारको सामान्य आरोप अन्तर्गत बलात्कारको दाबीको अनुसन्धान गरिन्छ। दोषी ठहरिएमा ४ देखि १५ वर्षको जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ।

बार्सिलोनाका चर्चित खेलाडी ४० वर्षीय अल्भेसले स्पेनिस क्लब बार्सिलोनाका लागि ४०० भन्दा धेरै पटक खेलेका छन्। उनले बार्सिलोनालाई ६ ला लिग तथा र तीन पटक च्याम्पियन्स लिगको उपाधि पनि दिलाएका थिए। उनी ब्राजिलको २०२२ को विश्वकप टोलीमा पनि थिए।