कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताएका छन्।
ललितपुर– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताएका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उनीहरूले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताएका हुन्।
छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता र चासोका विषयमा छलफल भएको जानकारी गराए। उनले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको उल्लेख गरे। “कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्ताबेजका रूपमा ‘एक नीति र एक लक्ष्य’ बन्नु जरुरी छ,” उनले भने।
नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराए। पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय पनि छलफलका क्रममा उठेको उनले जानकारी दिए।
कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्नेमा जोड दिए। “छलफलमा उठेका नीति प्रस्ताव अत्यन्तै समय सान्दर्भिक छन्। यसलाई इमानदारीपूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको छ,” उनले भने।
गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार गर्न नहुने शाहीको भनाइ थियो। “गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आएको छ। यो तत्कालीन समयले माग गर्ने विषय भएकाले अहिले नै गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सकिँदैन,” उनले भने।
वर्तमान गठबन्धन सर्वसम्मत रूपमा गरिएकाले यसको निरन्तरताका लागि सबै इमानदारीसाथ लाग्नुपर्ने सभापति शाहीले बताए। केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उनको भनाइ थियो।
मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यले निर्वाचनका समयमा बढ्दो अन्तर्घात घटाउन सके पार्टी बलियो हुँदै जाने भन्दै टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए। “टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेकाले अन्तर्घात बढेको छ,” उनले भने।
कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यले छलफलमा उठाएको यादवले जानकारी गराए। “महाधिवेशनको फरक दुई/दुई वर्षको गराउनुपर्दछ। यसले सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ,” उनले भने। सभापति यादवले मधेशमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको गुनासो पनि आएको बताए।
बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक समस्यालाई समाधानको पहल गर्नुपर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायत मागहरू उठेका जानकारी गराए।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने र आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनुपर्ने गरी काम गर्नुपर्नेलगायत विषय उठेका जानकारी दिए।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे छलफल भएको बताए। “गैरआवासीय नेपालीहरूका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गराउनुपर्ने कुरा उठेको छ। यसलाई व्यवस्थित गर्न कांग्रेसले पहल गर्नुपर्ने सुझाव प्राप्त भएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
