प्रतिकूल मौसमका कारण प्रभावित हवाई उडान सामान्य अवस्थामा

बिहीबार अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।

काठमाडौँ– प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रूपमा सञ्चालन भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो। 

बिहीबार अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो। प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ एक जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताए। उनका अनुसार भारतको मुम्बईबाट काठमाडौँ आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनउ डाइभर्ट गरिएको थियो।

आन्तरिकमा ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स’ (आईएफआर) बाट मात्र उडान भएको थियो। अहिले दुवै उडान सामान्य रूपमा सञ्चालन भइरहेका प्रवक्ता झाले जानकारी दिए।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौँसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। काठमाडौँमा साँझ करिब डेढ घण्टा हल्का वर्षा भएको थियो।

महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा ३.६ मिलिमिटर वर्षा भएको छ। पोखरामा ७.५, घोराहीमा ५.८, दिपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।