इराकमाथि नेपालको फराकिलो जित, सावित्रा भण्डारीको ५ गोल

नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ५ गोल गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ५० पुगेको छ।

काठमाडौँ– नेपालले वाफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलमा इराकविरुद्ध फराकिलो जित दर्ता गरेको छ।

बिहीबार राति भएको खेलमा इराक ५–० ले पराजित भएको हो। नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरिन्। यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन्। 

खेलको १४औँ मिनेटमा सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसको दुई मिनेटमै अग्रता दोब्बर पारिन्। उनले खेलको ३७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेकी पूरा गरिन्।

पहिलो हाफको अन्त्यमा सावित्राले चौथो गोल गरिन्। ८०औँ मिनेटमा गोल गर्दै नेपाललाई सानदार जित दिलाइन्। 

नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ। यस जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि नेपाल अन्तिम चारमा पुगेको हो। ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो। समूह चरणअन्तर्गत नेपालले अब  शनिबार प्यालेस्टाइनसँग खेल्नेछ।