आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ। 

काठमाडौँ– सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। 

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ जना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए। ती बालबालिकालाई एक हजार ६७० केन्द्रबाट खोप लगाइने उनले बताए।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने छ। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन्। काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ तथा काठमाडौँ महानगरमा फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। 

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।

गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा २२५ जनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।