बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे। “आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा बहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ,” सांसद भट्टराईले भने, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुपर्‍यो। आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ।”

उनले सरकार, मन्त्रालय र ईपीएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको बताए। युवाको विरोध प्रदर्शन भएको बेला भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको उनको आरोप छ। 

यही फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकोसमेत स्मरण गराए।

एमाले सचिवसमेत रहेका भट्टराईले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामोक्स) खरिदमा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मन्त्रीसँग बयान लिएको अवस्थामा मन्त्रीले नैतिकताको आधारमा पदमा रहिरहन नमिल्ने दाबी गरे।

“बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने। यससँगै छानबिनलाई पनि अघि बढाउने विषय ठिक भएन, यसबाट छानबिन प्रक्रिया प्रभावित हुन्छ । छानबिनलाई निष्पक्ष अघि बढाउन वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मार्गप्रशस्त गर्नुपर्छ।”

सांसद भट्टराईले भगवान् गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमितता भएको उल्लेख गर्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पदमा रहन नमिल्ने जिकिर गरे।