ग्वार्डिओला सन् २०२५ सम्म सिटीसँगै रहने

ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखलाई छाड्दै सिटीमा आवद्ध भएका थिए।

काठमाडौँ– म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला सन् २०२५ सम्म प्रिमियर लिग क्लबसँगै रहने भएका छन्। सिटीका लागि चारपटक प्रिमियर लिगसँगै कुल ११ उपाधि जिताएका ग्वार्डिओलाले थप दुई वर्षका लागि सम्झौता गरेका हुन्।

ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखलाई छाड्दै सिटीमा आवद्ध भएका थिए। उनले आफू विश्व उत्कृष्ट क्लबमा रहेको बताएका छन्। “मेरो लागि योभन्दा राम्रो कुनै ठाउँ छैन। म सिटीमा थप दुई वर्ष बस्न पाउँदा खुसी छु”, उनले भने।

सिटी जारी सिजन प्रिमियर लिगको दोस्रो स्थानमा छ। सिटीले १४ खेलमा १० जित, २ हार र २ बराबरीसँगै ३२ अंक जोडेको छ। अंकतालिकाको शीर्षस्थानमा रहेको आर्सनलको ३७ अंक छ।

सिटीले च्याम्पियन्स लिगको नकआउट चरणमा आरबी लाइप्जिगको सामना गर्दै छ। ग्वार्डिओलाले सिटीका लागि अबको दशक निकै उत्साहजनक हुने बताए।

"पछिल्लो १० वर्ष जे भयो, अर्को दशक पनि त्यस्तै हुने छ। क्लबको व्यवस्थापनका कारण पनि यो सम्भव भएको हो," उनले भने।

क्याटलान क्लब बार्सिलोनालाई ४ वर्षमा १४ उपाधि जिताएपछि उनी बायर्न म्युनिख पुगेका थिए। उनले त्यहाँ लगातार तीन सिजन बुन्डेसलिगा जित्दै सिटी आएका थिए।