टीआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।

शुक्रबार २३औँ मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले उपसमितिबाट अबको पाँच दिनभित्र पारित गर्ने र त्यसपछि संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको बताए। “पाँच दिनभित्र समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने, त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ,”  उनले भने।

उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यका तर्फबाट पाउन नसकेको बताए।

शान्तिप्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो। उनले अदालतले बिदा नदिए पनि आफूहरूले ‘जनयुद्ध दिवस’ मनाएको बताए। उनले ‘जनयुद्ध दिवस’ शान्तिप्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे। “संक्रमणकालीन न्याय टुंगिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ,” उनले भने।