मोरङमा लरी पल्टिँदा च्यापिएर ३ बालबालिकाको मृत्यु

मोरङको भित्री सडकमा शुक्रबार भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।

मोरङ– बुढीगंगा गाउँपालिका–४ को भित्री सडकमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्बल लोड गरेको भारतीय नम्बर प्लेटको लरी आर जे २९ जीबी १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको हो। घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक दाहालले बताए। तीन जनाको शव परीक्षणका कोशी अस्पतालमा राखिएको र परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।