खडेरीले पर्वतमा हिउँदे बाली प्रभावित

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।

फाइल तस्वीर

पर्वत– लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेको छ। झन्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएको बाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दा ठूलो नोक्सानी हुने अवस्था देखिएको छ।

कृषकहरूले लगाएको आलु, गहुँ, जौ, तोरीलगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ। पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ। तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरूले गुनासो गरेका छन्।

व्यावसायिक तरकारीखेती गरेका कृषकसमेत खडेरीका कारण उत्पदान नभएको गुनासो गरेका छन्। लामो समयको खडेरीले कृषकलाई ठूलो समस्या परेको पर्वतको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए। खेतमा मकै लगाउने बेला भइसक्दा पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए।

गत असोज अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन। जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेष गरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए।

उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ। “सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ”, अधिकारीले भने।

कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले यो बेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुने बताए। चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ छ।

पर्वतमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रूपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ। तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ। 

त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषक मारमा परेका छन्। उनका अनुसार जिल्लाको पातीचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ।

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्। अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकले गुनासो गरेका छन्। जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमा समेत पानी बन्द हुँदा झनै समस्या भएको छ। 

सानातिना मूलको भरमा खेतीपानी गर्दै आएका कृषक खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए। उनले भने, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ।” 

यो महिनाभरिमा वर्षा नहुने हो भने मकैखेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ। खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रको अनुमान छ।