चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : मीन विश्वकर्मा

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।

काठमाडौँ– नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा उल्लेख चुनावी गठबन्धनसम्बन्धी विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताएको छ।

महासमिति बैठकका निष्कर्ष सुनाउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो बताएका हुन्। 

उनले महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावको भाषामा केही त्रुटि भएको, शीर्ष नेतामा एक रूपता ल्याउने सहमतिअनुरूप उक्त प्रस्ताव महासमिति बैठकमा पारित भएको र सो प्रस्तावबारे केन्द्रीय समितिले निर्णय गर्ने बताए।

“विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धन पाँच वर्षको शर्तसाथ बनाएको हो। त्यसलाई थप इमानदार हुँदै निरन्तरता दिने भन्ने महासमितिको दस्ताबेजमा छ। महामन्त्रीले नै बैठकमा विभिन्न नेता–कार्यकर्ताका राय सुन्नुभयो। उहाँकै सहभागितामा महासमितिले निष्कर्ष निकालेको छ। दस्ताबेजमै गठबन्धनलाई निरन्तरता दिने भन्ने छ,” उनले भने।

महासमिति बैठकका निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताउँदै विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेसमेत पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।

आफ्ना, अरूका विचार र धारणाहरू संयोजन गर्दै पार्टीलाई एकढिक्का भएर लग्नेमा नेताहरूबीच सहमति भएको विश्वकर्माले बताए। एक हजार ३७१ जनाको महासमिति बैठकमा सहभागिता रहेको भन्दै सबैको सुझाव लिएर जनतामा आशा जगाउने गरी प्रस्तावहरू परिमार्जनसहित पारित गर्ने उनको भनाइ थियो।