रुसी सेनामा भारतीय नागरिक भर्ती भएको पुष्टि

भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिक रुसी सेनासँगको ‘सहायक नोकरी’का लागि भर्ती भएको पुष्टि गर्दै उनीहरूको घर फिर्तीका सम्बन्धमा मस्कोसँग संवाद भइरहेको जनाएको छ।

भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिक रुसी सेनासँगको ‘सहायक नोकरी’का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ। मन्त्रालयले उनीहरूको घर फिर्ती सुनिश्चितताका लागि मस्कोसँग संवाद गरिरहेको समेत बताएको छ।

करिब १८ भारतीय युक्रेन–रुस युद्धको अग्रपंक्तिमा विभिन्न सीमावर्ती शहरमा फसेको हिन्दु अखबारले बुधबार बताएको थियो। अखबारमा उल्लेख गरिएअनुसार रुसी सैनिकसँग मिलेर युक्रेनमा लडाइँ गर्नका लागि कम्तिमा तीन भारतीयलाई ‘बाध्य’ पारिएको थियो।

विदेश मन्त्रालयले भारतीय नागरिक युद्धमा लडाकुका रूपमा खटिएका थिए कि थिएनन् भन्ने पुष्टि गरेको छैन। तर एक विज्ञप्तिमा भनिएको छ, “केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ।”

“भारतीय दूतावासले उनीहरूको शीघ्र रिहाइका लागि सम्बन्धित रुसी अधिकारीसँग नियमित रूपमा यस मामिलालाई उठाइरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ।”

भारतीयलाई दुबईस्थित भर्तीकर्ताले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै मस्को पुर्‍याएर धोका दिएको दि हिन्दुको रिपोर्टमा आरोप लगाइएको छ। मस्कोमा पुगेपछि भारतीयलाई कथित रूपमा ‘रुसी सेनाबाट हतियार र गोला बारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपंक्तिमा पठाइएको समाचारमा जनाइएको छ।