जाजरकोट भूकम्प: रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

फाइल तस्वीर।

त्रिवेणी– कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ। 

सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। जिल्लाभर सात हजार ९१२ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९६२ परिवार थिए। 

हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार ९३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ७०८ अस्थायी आवास निर्माण गरिएको छ। चौरजहारी नगरपालिकामा छ हजार १९४, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार ९९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख रुपैयाँ पठाएको छ। स्थानीय विपद् कोषबाट भने ३० हजार २३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

अब जिल्लामा पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।