३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाउने बताएका छन्। 

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको उल्लेख गरे। 

“बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौँ,” उनले भने, “तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।”

नयाँ योजना धेरै नथपीकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। “खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ,” उनले भने।

बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए। 

“बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ,” उनले भने, “यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।”

आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारले संसद्‌मा विधेयक प्रस्तुत गर्ने भएकाले त्यसलाई पारित गराउन सांसदलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिए। 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदलाई अभिमुखीकरण गर्ने कार्यसूची छ।