बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

गलकोट– संघीय सरकारअन्तर्गत २०७९ सालमा शुरू भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक सडकको काम रोकिएको छ। 

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजार रुपैयाँमा निर्माण भइरहेका थिए।

एक करोडका दरले चार करोड मात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो। बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको सात करोड १२ लाख ४७ हजार रकम भुक्तानी गर्न बाँकी छ। 

उक्त चार सडक निर्माणका लागि एक अर्ब १९ करोड बजेट आवश्यक पर्नेमा यस वर्ष चार करोड मात्रै विनियोजन भएको छ। बागलुङ बजारदेखि चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि भुक्तानी नपाएपछि निर्माण व्यवसायीले काम गर्न सकेको छैन। 

१० किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा सम्झौता भएको थियो। निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठले बताए। 

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक २०७९ सालमा २५ करोड २० लाखमा सम्झौता भएको थियो। उक्त सडकका लागि रु एक करोड बजेट विनियोजन भएपछि काम रोकिएको हो। यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ। 

म्याग्दीको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिए पनि बजेट अभावमा कालोपत्र हुन सकेको छैन। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको तीन करोड ८१ लाख ४४ हजार भुक्तानी दिन बाँकी छ। मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो–कुन्जे–टिटी–धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ।

तीन वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ। ३८ करोडको सडक निर्माणका लागि एक करोड मात्र बजेट आउँदा काम भएको छैन। 

कार्यालयका प्रमुख अनुक्षा घिमिरेले अर्थ मन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको बताइन्। “ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौता अघि नै सक्नेगरी अघि बढेको थियो। बजेट कटौती भएर भुक्तानी गर्न सकिएन,” घिमिरेले भनिन्, “अर्थमन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ।”