कराँते खेलाडी रियाको उच्च शिक्षा पढ्ने चाहना अधुरै

रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।

महेन्द्रनगर (कञ्चनपुर)– कराँते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टु’को प्रमाणपत्र लिन सकेकी थिइनन्। उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमन्ड पब्लिक एकेडेमीबाट ‘प्लस टु’ उत्तीर्ण गरेकी हुन्। उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन्।

कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन्। यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन।

“कक्षा ३ देखि ‘प्लस टु’सम्मको तीन लाख ६१ हजार शुल्क तिर्न बाँकी थियो,” रियाले भनिन्, “आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ।” 

केही दिनअघि कराँतेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको विद्यालयको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ। यससँगै स्नातक तह पढ्न बाटो खुलेको छ।

पूर्वप्रशिक्षक सिंहले विद्यालयको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसइई र ‘प्लस टु’ को प्रमाणपत्र पाएकी छिन्।

अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दै छिन्। तर कमजोर आर्थिक अवस्थाका कारण उनी हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन्। उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्।

पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो कराँतेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए। त्यही क्रममा रियाको सिंहसित भेट भयो। उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक विमल खडायत, मदन नाथ र दीपक चन्दले कराँते महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए। “मकेन्द्र गुरु मेरो बारेमा जान्न बुझ्न घरमै आउनुभयो,” रियाले भनिन्।

अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरिदिए। विद्यालयले अढाई लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन्। बाँकी एक लाख ११ हजार रुपैयाँ शुल्क उनको विद्यालयले मिनाहा गरिदियो।

१८ वर्षीया रिया करातेकी पदकधारी खेलाडी हुन्। शुल्क तिर्न बाँकी रहेको कुरा उनले साथीभाइ र प्रशिक्षकहरूलाई अवगत गराएकी थिइन् तर कहीँ कतैबाट पनि सहयोग जुटेन। “शैक्षिक प्रमाणपत्र लिन पटक–पटक विद्यालय धाए, तर विद्यालय प्रशासनले शुल्क नतिर्दा दिन नसकिने बतायो,” रिया भन्छिन्, “शुल्कका विद्यालयबाट फोन आउन थालेपछि दुई महिनासम्म मोबाइल बन्द गरेर बसेँ।”

रिया कराँतेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छिन्। उनले २०७४ माघदेखि करोत खेल्न थालेकी हुन्। यसबीचमा रियाले ६ वटा पदक प्राप्त गरेको बताइन्। उनी हाल मधेश प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराँते प्रतियोगिताको तयारीमा जुटेकी छिन्। त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराँते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छिन्।

रियाको दैनिकी कष्टकर छ। उनका बुबा चञ्चलसिंहको डेढ वर्षअघि निधन भएपछि आर्थिक अवस्था नाजुक बनेको छ। उनका बुबा भारतमा सवारी चालक थिए। त्यहीबापतको कमाइएले चञ्चलसिंहका चार सन्तानको जीविका चलेको थियो। “सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ,” उनले आफ्नो परिवारको अवस्थाबारे सुनाइन्।

विद्यालयमा भर्ना भएदेखि नै विद्यालयको शुल्क बक्यौता रहँदा रियालाई अध्ययन गर्न सकस हुँदै आएको थियो। “मेरा साथीहरू स्नातक पढ्दै छन्, म भने कागजात जुटाउनमै रहेँ,” उनले भनिन्। डायमन्ड विद्यालयमा उनीसँगै उनका भाइको पनि शुल्क तिर्न बाँकी थियो। डायमन्ड पब्लिक एकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ। अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुबाहेक विकल्प छैन। “मसित स्नातक तह पढ्न खर्च छैन,” रियाले पीडा सुनाइन्।

गड्डाचौकी कराँते डोजोबाट कराँते खेल्दै आएकी रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कांस्य पदक प्राप्त गरेकी छिन्। अब उनको धोको स्वर्ण पदक जित्ने छ। “बुबा बितेपछि खेलको नजिता आफ्नो पक्षमा पार्न सकिनँ,” उनले भनिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन्। कराँते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी छिन्।

“बुबाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु,” रियाले भनिन्, “कक्षा ११ र १२ पढाइ साथीभाइहरूसँग पुस्तक मागेरै सिद्ध्याएँ।” स्नातक तह पढ्नका लागि पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन्। “खेल अभ्यास र पढाई सँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन,” रियाले भनिन्।

विसं २०५१ देखि २०६३ सम्म कराँते प्रशिक्षकका रूपमा काम गरेका सिंहले रियालाई सक्दो सहयोग गर्ने बताए। “समस्यामा परेका खेलाडीलाई सहयोग गर्नु मेरो दायित्व हो, म उनलाई सक्दो सहयोग गर्छु,” उनले भने। कराँतेको अनुशासित र संघर्षशील खेलाडीको परिचय बनाएकी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ।