गोर्खालीले जित्यो रग्बी लिगको उपाधि

त्रिभुवन आर्मीलाई ६६–७ को स्कोरले पराजित गर्दै गोर्खाली क्लबले रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।

काठमाडौँ– गोर्खाली रग्बी क्लबले राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो।  

गोर्खाली रग्बी ९ अंकसहित च्याम्पियन बनेको हो। गोर्खाली रग्बीले रनिङ ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो। लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो। एपीएफले ७ अंक जोड्यो। 

एपीएफले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्‍यो। तेस्रो भएको आर्मीले ५ अंक जोड्यो। नेपाल प्रहरी ३ अंकसाथ ४ टिम सहभागी लिगमा अन्तिममा रह्यो।

प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए। उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे।