समानुपातिकमा एमालेलाई अग्रता, माओवादी केन्द्र चौथोमा

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिँदा नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ। बुधबार राति ८ बजेसम्मको निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमाले २ लाख ९८ हजार ९७४ मतसहित अग्रस्थानमा छ। 

एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले २ लाख ७७ हजार ६९५ पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख ४७ हजार १४८ मतसहित तेस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्र १ लाख ३६ हजार ९७ मत ल्याएर चौथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७७ हजार ६६३ मत ल्याएको छ।

जनता समाजवादी पार्टीले २७ हजार ९४४, नेपाल मजदुर किसान पार्टीले २५ हजार ६२६, जनमत पार्टीले २२ हजार ८४ र नेकपा एकीकृत समाजवादीले १६ हजार ९०७, नागरिक उन्मुक्ति पार्टीले १४ हजार ४६८ मत प्राप्त गरेका छन्।

प्रदेशसभातर्फ प्रदेश-१ एमालेले ७९ हजार २१२ मत ल्याउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ७२ हजार ७०५ मत पाएको छ। यो प्रदेशमा नेकपा माओवादी केन्द्रले ३२ हजार १६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ८९९, जनता समाजवादी पार्टीले ११ हजार ८३० मत ल्याएका छन्।

मधेश प्रदेशमा नेपाली कांग्रेस १९ हजार ४४९ मतसहित अग्रस्थानमा छ। नेकपा एमालेले १६ हजार २६० मत ल्याउँदा सीके राउत नेतृत्वको जनमत पार्टीले १५ हजार ४७७ मत पाएको छ। यो प्रदेशमा जनता समाजवादी पार्टीले ८ हजार ६४६ र नेकपा माओवादी केन्द्रले ६ हजार ८१२ मत ल्याएका छन्।

बागमती प्रदेशमा नेकपा एमालेले ४० हजार ५०६ मत ल्याएर अग्रता लिँदा नेपाली कांग्रेस ३९ हजार ९३७ मतसहित पछ्याइरहेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार २०९, नेपाल मजदुर किसान पार्टीले २३ हजार ९७७ र माओवादी केन्द्रले २० हजार २०९ मत पाएका छन्।

गण्डकी प्रदेशमा एमालेले ७५ हजार ५०८, नेपाली कांग्रेसले ६० हजार ३२८ माओवादी केन्द्रले २५ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ हजार ६३१ र नेकपा एकीकृत समाजवादीले ५ हजार ९०८ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा नेकपा एमालेले १ लाख ३ हजार ४, नेपाली कांग्रेसले ८५ हजार ११५, माओवादी केन्द्रले २९ हजार २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ६७८ र नागरिक उन्मुक्ति पार्टीले ८ हजार ५३९ मत पाएका छन्।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले १२ हजार २३०, नेकपा एमालेले ५ हजार ६५६, नेपाली कांग्रेसले ४ हजार ७४ नेकपा एकीकृत समाजवादीले १ हजार ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७७५ मत ल्याएका छन्। सुदूरपश्चिम प्रदेशको सामानुपातिकको मत आयोगको प्रणालीमा अध्यावधिक गरिएको छैन।