निषेधित क्षेत्रमा जाने पर्यटकलाई अनलाइनबाटै ‘रुट परमिट’

अनलाइन प्रणालीले मुस्ताङ र डोल्पाको माथिल्लो भाग, गोरखाका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज भएको छ।

काठमाडौँ– अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ।

विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिन सक्ने व्यवस्था गरेको हो। निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएको थियो। अब भने विद्युतीय माध्यममार्फत रुट परमिट लिन सकिने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) महासचिव विनोद सापकोटाले जानकारी दिए।

उनका अनुसार म्याजिकल नेपाल प्रालिमार्फत तीनजना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ। अनलाइनमार्फत रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन्। यससँगै मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनासलु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज हुने भएको छ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले निषेधित क्षेत्रको परमिट अनलाइनमार्फत गर्दा पदयात्रा पर्यटक र व्यवसायी दुवैलाई सहज हुने बताए। “जति धेरै पर्यटकलाई सहजता दिन सक्यो त्यति नै धेरै पर्यटक नेपाल घुम्नका लागि आउँछन्। उक्त अनलाइन सेवाले पर्यटन व्यवसायीलाई सहयोग पुग्ने विश्वास मैले लिएको छु,”  उनले भने। 

अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइन परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए। पर्यटकले अब सहज रूपमा आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्यूआर पेमेन्ट’ गरी परमिट लिन सक्ने उनको भनाइ छ।