एमालेले संसद्‌बाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा

आइतबार प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले भौतिकमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराँती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन्। 

उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउन विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए। 

“हामीले संसद्‌मा हप्तौँ दिनदेखि कुरा उठाए पनि सरकार सुन्न तयार छैन। प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिर हिँडिरहनुभएको छ,” उनले भने, “सरकारले दोषी मन्त्रीहरूलाई तत्काल बर्खास्त गरोस्। म माग गर्न चाहन्छु। मिटरब्याजपीडित आन्दोलनमा छन्। उनीहरूको आवाज सुनिएको छैन।”

एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको उनको भनाइ छ।