इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने

इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। 

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ। 

आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। 

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो। सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री रहेका सिंहको असार ५ मा निधन भएको थियो।