राजनीतिक दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।

काठमाडौँ– ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रतिनिधिसभामा पेश भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन्। 

उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सोपश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पारे।

बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरेका थिए। विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई भने बहुमतले अस्वीकृत गरेको छ।

गृहमन्त्री श्रेष्ठले पेश गरेको सो विधेयकमाथि अब प्रतिनिधिसभामा छलफल हुनेछ। यसअघिको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगरे सो विधेयक पेश हुन पाएको थिएन। प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ।