सरकारले टोली गठन गर्दै मिटरब्याज पीडितलाई बोलायो वार्तामा

गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गर्दै मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ।

काठमाडौँ– सरकारले मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ। गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गर्दै मिटरब्याज पीडितलाई वार्तामा बोलाएको हो।

पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेची पुलबाट पैदल हिँडेर २३ दिनमा काठमाडौँमा आइपुगेर मिटरब्याज पीडितहरू आन्दोलन गरिरहेका छन्। मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो।

तर व्यक्तिगत रूपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो। लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो। मिटरब्याज पीडितहरूलाई पाँच जनाको टोली गठन गरी वार्तामा आउन भनिएको छ।

“मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थिति हुनुहुन आदेशअनुसार अनुरोध छ,” गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा अधिकृत मौसम ढुंगेलले मिटरब्याज पीडितलाई छलफलका लागि आमन्त्रण गरिएको सम्बन्धमा लेखेको पत्रका भनिएको छ।

पत्रमा यसअघि मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि गरिएका छलफलका बारेमा पनि स्मरण गराइएको छ।

मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकार सम्पन्न आयोग गठन, आयोगको कार्यकाल समाप्त भई विघटन भएपश्चात् उजुरी फर्छ्योटसम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षका बीचमा छलफल तथा मेलमिलापसमेत गराउने र सहमति नभएका विषयमा कानूनबमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारीले सोको अनुगमन गर्ने व्यवस्था गरिएको पनि पत्रमा उल्लेख छ।

यसका बाबजुद मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ।