प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

किसानहरुलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।

काठमाडाैँ– सोमबार बसेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरूको राजीनामा नआएसम्म संसदको प्रक्रिया अगाडि नबढ्ने भनि अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। सभामुख देवराज घिमिरेले सभालाई नियमित कारबाहीमा लैजान सहयोग गर्न पटक–पटक गरेको आग्रहलाई एमालेले स्वीकार गरेन। सभामुखले आफूले यसअघि नै यथेष्ट मात्रामा सरकारलाई निर्देशन दिइसकेको पनि बताए।

उनले भने– "दिनप्रतिदिन अब यो भाषामा रुलिङ हुनुपर्‍यो। यति मिनेटको लागि रुलिङ हुनुपर्‍यो। यति घण्टाका लागि रुलिङ हुनुपर्‍यो । यसले रुलिङमा उपस्थित हुनुपर्‍यो। त्यसले हुनुपर्‍यो। भन्ने विषयलाई छलफल गरेर होइन। समग्रमा आएका विषयहरूको बारेमा मैले यसभन्दा अगाडि यथेष्ट मात्रामा निर्देशन गर्ने कामहरू गरिसकेको कुरा सदनमा माननीयज्युहरूलाई राख्न चाहन्छु।"

उनले कार्यसूची अनुरूप विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गराउन लाग्दा एमालेले नाराबाजी गरेको थियो। किसानहरूलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।