क्यानको ‘ए’ श्रेणीमा ६ क्रिकेटर, मासिक १ लाख तलब

क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी विभाजन गर्दै मासिक तलब निर्धारण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने पुरुष खेलाडीले एक लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्याक्टमा रहने पुरुष तथा महिला खेलाडीको श्रेणी वर्गीकरण अनुमोदन गरेको छ। क्यानको फागुन १२ र १४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी वर्गीकरण अनुमोदन गर्दै तलब निर्धारण गरेको हो।

क्यानले पुरुषतर्फ श्रेणी ‘ए’मा ६ जना खेलाडी समेट्दै उनीहरूलाई मासिक १ लाख रुपैयाँ तलब उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि ‘ए’ श्रेणीका खेलाडीले मासिक रूपमा ५० हजार रुपैयाँ तलब पाउँदै आएका थिए। श्रेणी ‘ए’मा समेटिने खेलाडीहरूमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

त्यस्तै, क्यानको श्रेणी ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा रहेका छन्। क्यानले उनीहरूलाई ७० हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने छ। 

त्यस्तै, श्रेणी ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी समेटिएका छन्। उनीहरूको तलब मासिक ५५ हजार हुने छ। त्यस्तै, श्रेणी ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल साह विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्। उनीहरूले तलब ३५ हजार रुपैयाँ पाउने छन्। 

त्यस्तै, इमर्जिङ क्याटेगोरीमा प्रत्येक प्रदेशबाट एक/एक जना खेलाडी समेटिएका छन् र उनीहरूलाई २५ हजार तलब दिने निर्णय भएको क्यानले जनाएको छ।

त्यस्तै, महिलातर्फ ‘ए’ श्रेणीमा इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर परेका छन्। उनीहरूलाई ५० हजार तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ। 

त्यस्तै, श्रेणी ‘बी’मा परेकी कविता कुँवरले ३५ हजार तलब पाउने छिन् भने श्रेणी ‘सी’का पूजा महतो र अश्मिना कर्माचार्यले ३० हजार रुपैयाँ मासिक तलब पाउने छन्।

त्यस्तै, श्रेणी ‘डी’मा समेटिएका अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावललाई २५ हजार मासिक तलब उपलब्ध गराइने निर्णय भएको क्यानले जनाएको छ। क्यानले महिलातर्फ आठ खेलाडीलाई इमर्जिङ क्याटेगोरीमा राखेको छ। उनीहरूले २० हजार मासिक तलब पाउने छन्।