नेप्से १३ अंकले बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.२८ अंकले उकालो लागेर १९९२.३० को विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१४ अंकले उकालो लागेर ३५५.९७ को विन्दुमा पुगेको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ। विभिन्न कम्पनीका कुल ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भएका छन्। 

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार २२९ मूल्य बराबरको शेयर कारोबार भयो। 

हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार ८२२, शिवम् सिमेन्ट ६ करोड ६७ लाख ६७ हजार ५२८, गुर्खाज फाइनान्स ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स ६ करोड १८ लाख सात हजार ९१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त ८.१६, नेपाल वेयर हाउस कम्पनी ७.६५, सोनापुर मिनरल्स ७.३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६.७२ प्रतिशतले कमाएका छन्। 

यस्तै, समाज लघुवित्त १०, बीपीडब्ल्यू ८.७७, किसान लघुवित्त ५.५६, गुर्खाज फाइनान्स ५.३५ र ग्लोबल आईएमई ब्यालेन्स फन्ड पहिलोका लगानीकर्ताले ३.६० प्रतिशतले गुमाएका छन्।