उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले २०८१ वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ। कार्यतालिकामा फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

त्यस्तै, चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नका लागि फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने छ।

चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ। वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ। गत वर्ष ०७९ को मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको सवारी दुर्घटनामा निधन भएको थियो।