रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको शव मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।

काठमाडौँ– भजन शिरोमणि भक्तराज आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ। सोमबार अपराह्न उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

संगीतकार वसन्त सापकोटाले आचार्यको सोमबार अपराह्न साढे चार बजे निधन भएको बताए। उनको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको मेडिसिटीमा ल्याइएको र त्यहाँ चिकित्सकहरूले मृत घोषित गरेको उनले जानकारी दिए।

“दुई महिनाअघि लडेर घाइते हुनु भएको थियो। विस्तारै ठीक हुँदै हुनुहुन्थ्यो। आज अचानक स्वासप्रस्वासमा समस्या देखिएर मेडिसिटी ल्याइएको थियो। त्यहाँका चिकित्सकहरूले उहाँलाई मृत घोषित गर्नुभयो,” उनले भने।

अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान आचार्यको शव नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ। उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन्। आचार्य लामो समयदेखि अस्वस्थ थिए।

उनले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको‘, ‘माया मेरी साँझ बनी’, ‘हजार आँखा हेर्ने’, ‘कोही नगरोस् प्रेम’सहित सयौँ गीत चर्चित छन्।

उनले ‘एक दिन मैले प्रभुसँग’, ‘राम यहीँ छन्’, ‘भगवान् जीवन नाउ’, ‘दुर्गे देऊ भक्ति मलाई’, ‘तन मन वचनलगायत लोकप्रिय भजन गाएका छन्। उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि संगीत साधनामै सक्रिय छन्।