बुरुन्डीमा आतंकवादी आक्रमण: ९ जनाको मृत्यु

आक्रमणमा पाँच जना घाइते भएका छन्। विद्रोहीहरूले सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। 

पश्चिम बुरुन्डीमा भएको आतंकवादी आक्रमणमा ९ जनाको मृत्यु भएको छ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा नजिक रहेको बुबान्जा प्रान्तस्थित बुरिंगा गाउँमा भएको आक्रमणमा  ६ जना महिला र १ जना सैनिकसहित कम्तीमा ९ जनाको मृत्यु भएको हो। 

घटनामा पाँच जना घाइते भएको  बुरुन्डी सरकारका प्रवक्ता जेरोम नियोन्जिमाले बताए। सो आक्रमण रेड–तबारा विद्रोहीहरूले गरेको स्थानीय अधिकारीहरूलाई उद्‌धृत गर्दै सिन्ह्वा जनाएको छ। 

विद्रोहीहरूले यस क्षेत्रमा सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। सो विद्रोही समूह सन् २०१५ देखि बुरुन्डीको सरकारसँग लडिरहेको छ।