मगर एकता दिवस मनाइँदै, विभिन्न पालिकामा सार्वजनिक बिदा

मगर एकता दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्।

मध्यविन्दु– देशभरका मगर समुदायले मंगलबार ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।

मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्।

नेपाल मगर संघ तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघका जिल्ला उपाध्यक्ष इन्द्र फालमगरले बताए।

सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आबद्ध संघसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए।

“विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोक संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ,” उनले भने।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार ४९८ छ। यसैबीच, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले दिवसमा सार्वजनिक बिदा दिएका छन्। छुट्टाछुट्टै सूचना जारी गर्दै मंगलबार आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन्।

चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ।