पर्यटकको पर्खाइमा तमोर किनारका पर्यटकीय क्षेत्र

नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि आन्तरिक व्यवस्थापन गर्न नसक्दा पर्यटक भित्र्याउन नसकिएको स्थानीयले बताएका छन्।

धनकुटा– ताप्लेजुङको ओलाङचुङगोलामा मुहान रहेको तमोर नदो धनकुटाको बीच भागबाट बग्छ। तेह्रथुम र पाँचथर हुँदै बगेको नदी धनकुटा आइपुग्दा फाँटिलो भएको छ। 

नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका आकर्षण हुन्। तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रमा बेलाबखत स्वतः हुने जलयात्रा, फिसिङ, क्याम्पफायर, वनभोजबाहेक पर्यटक पुग्न सकेका छैनन्। 

जिल्लाको छथर जोरपाटी,सहिदभूमि,साँगुरीगढी, चौबिसे  गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ। होटल एसोसिएसन भेडेटारको तथ्यांकअनुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार ५०० देखि दुई हजार ५०० सम्म पर्यटक आउने गरेका छन्। 

तर, नजिकै सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ। स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा– १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाले बताए। 

एक दशकअघिबाट ५० लाख लागतमा रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए। साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताउँछन्। 

अहिले भारतको जोगवनीबाट ओलाङ्चुगोला हुँदै चीन जोड्न तमोर करिडोर निर्माणाधीन छ। यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ।

 तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए। 

तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिए। 

नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा पर्यटक भित्र्याउन नसकिएको उनले बताए।