तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ। 

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमलाई पक्राउ गरिएको जानकारी दिइन्। न्यौपाने हाल प्रभु बैंकको डेपुटी सीईओका रूपमा कार्यरत छन्।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूसँगै अन्य पनि पक्राउ परेका छन्। 

सीआईबी प्रमुख बज्राचार्यका अनुसार अहिलेसम्म १० जनालाई पक्राउ गरिएको छ। “हामीले गरेको अनुसन्धानका क्रममा विभिन्न तीन कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएको छ,” उनले भनिन्, “त्यसका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।”

सीआईबीका अनुसार पक्राउ पर्नेमा प्रभु बैंकमै कार्यरत रहेका दिलीप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी रहेका छन्। अन्यको नाम खुलेको छैन भने यो प्रकरणमा थप अन्यलाई पनि पक्राउ गर्ने सीआईबीले तयारी गरेको छ। 

नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न भनेपछि सीआईबीले यो प्रकरणको अनुसन्धान अघि बढाएको थियो।