वैज्ञानिकहरूका अनुसार ह्वेलहरू एकअर्कासँग सञ्चार गर्न र समुद्रको गहिराइ र अन्धकारमा एकअर्कालाई भेट्टाउन आफूले निकाल्ने आवाजमा निर्भर हुन्छन्।
समुद्रमा तैरिने विशाल जीव ह्वेलले गीत गाउँछ। के यसबारे तपाईंलाई थाहा छ?
ह्वेलले गीत गाउँछ भनेर वैज्ञानिकहरूले धेरै पहिले नै पत्ता लगाएका थिए। तर कसरी गाउँछ भन्ने रहस्य बुझ्न भने निकै समय कुर्नुपर्यो। भर्खरै गरिएको एक अनुसन्धानमा वैज्ञानिकहरूले उक्त रहस्यको हल निकालेका छन्।
कहिलेकाहीँ ह्वेल भएको स्थानमा ठूलो आवाज सुनिन्छ। कतिपयले त्यसलाई संसारकै सबैभन्दा डरलाग्दो आवाज पनि भन्ने गर्छन्। जुन् आवाज ह्वेलहरू गाउँदा आउँछ। यो पानीमुनि माइलौँसम्म सुन्न सकिन्छ।
वैज्ञानिकहरूका अनुसार ह्वेलमा ‘भ्वाइस बक्स’ हुन्छ जुन अन्य जनावरहरूमा हुँदैन। यो बक्सले तिनीहरूलाई यी आवाज बनाउन शक्ति दिने वैज्ञानिकहरूको दाबी छ।
गत हप्ता नेचर म्यागजिनमा प्रकाशित एक अनुसन्धानमा वैज्ञानिकहरूले यस भ्वाइस बक्सको बारेमा उल्लेख गरेका छन्। दक्षिणी डेनमार्क विश्वविद्यालयका प्रोफेसर कोएन एलेमान्स र उनको टोलीले यो अनुसन्धान गरेका हुन्। उनले समुद्र किनारमा मरेका तीन ह्वेलको अध्ययन गरे। ती ह्वेलमा हम्पब्याक, मिन्के र सिटेसियन थिए।
वैज्ञानिकहरूले प्रयोगशालामा ती ह्वेलहरूको भ्वाइस बक्समा हावा पठाए। तिनीहरूबाट उक्त हावा गुन्जिँदा कुन तन्तुहरूमा असर पर्छ भनेर पत्ता लगाउन ह्वेल माछाको भ्वाइस बक्सको थ्रीडी कम्प्युटर मोडल तयार गरे। उक्त आवाज बनाउनका लागि ह्वेलको घाँटीको संकुचन र विस्तार स्पष्ट रूपमा देखिएको अध्ययनको निष्कर्ष छ। अनुसन्धानकर्ताहरूका अनुसार, यस क्षेत्रमा यो अहिलेसम्मको सबैभन्दा विस्तृत अध्ययन हो।
बीबीसीसँगको कुराकानीमा प्रोफेसर एलिमन्स भन्छन्, "ह्वेल अत्यन्त बुद्धिमान र सामाजिक प्राणी हुन्। उनीहरूमा नयाँ गीतहरू सिक्ने दुर्लभ क्षमता छ र तिनीहरूमार्फत् आफ्नो संस्कृतिलाई संसारभर फैलाउँछन्।"

वैज्ञानिकहरूका अनुसार ह्वेलहरू एकअर्कासँग सञ्चार गर्न र समुद्रको गहिराइ र अन्धकारमा एकअर्कालाई भेट्टाउन यो आवाजमा निर्भर हुन्छन्। यद्यपि, यो आवाज प्रजातिअनुसार फरक हुन सक्छ। प्रोफेसर एलिमन्स भन्छन्, "उदाहरणका लागि, हम्पब्याक पोथी ह्वेलले आफ्ना बच्चाहरूसँग कुराकानी गर्न आफ्नो आवाज प्रयोग गर्छन्, जबकि हम्पब्याक भाले ह्वेलले पोथीलाई आकर्षित गर्न गीत गाउँछन्।"
मानव र अन्य स्तनपायी प्राणीहरू भन्दा फरक, ह्वेलहरूको घाँटीमा दाँत वा भोकल कर्ड हुँदैन। बरु तिनीहरूसँग यू-आकारको तन्तु हुन्छ जसको माध्यमबाट तिनीहरूले ठूलो मात्रामा हावालाई आफ्नो घाँटीमा पुर्याउन सक्छन्। यो तन्तुमा ठूलो मात्रामा बोसो र मांसपेशीहरू हुन्छन्, जुन अन्य जीवहरूमा पाइँदैन।
वैज्ञानिकहरूले पत्ता लगाएअनुसार ह्वेलले श्वास छोड्दा उक्त यू-आकारको तन्तु सर्छ, जसले आवाज उत्पन्न गर्दछ।
स्ट्यानफोर्ड युनिभर्सिटीका महासागर विज्ञानका सहयोगी प्रोफेसर जेरेमी गोल्डबोगेन, जो यस अनुसन्धानको हिस्सा थिएनन्, भन्छन्, "यो ह्वेलको आवाजमा गरिएको सबैभन्दा गहन अनुसन्धान हो। ह्वेलहरूले कसरी आवाज निकाल्छन् भन्ने लामो समयदेखिको रहस्यमा यो अहिलेसम्मको सबैभन्दा विस्तृत र महत्त्वपूर्ण अध्ययन हो।"
उनले ह्वेलको आवाजको अचम्मको विविधतालाई ध्यानमा राख्दै यस क्षेत्रमा थप अध्ययनको आवश्यकता र अवसर रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
