दिवंगत भक्तराज आचार्यले गीत, संगीतका क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहिरहने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको उपचारका क्रममा लागेको खर्च बेहोर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर आचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
आचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मंगलबार प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता, कलाकार तथा सर्वसाधारण संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए। प्रधानमन्त्री दाहालले आचार्यको पार्थिक शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढार श्रद्धाञ्जली अर्पण गरे।
“उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूका बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु,” प्रधानमन्त्री दाहालले भने।

उनले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए। आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्याएका योगदान अजर अमर रहने उनको भनाइ थियो। “उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ। कालजयी नै छन् उहाँका योगदानहरू। त्यसले गीत संगीतका क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशा निर्देश गर्नेछ नै,” उनले भने।
त्यस्तै, एमाले अध्यक्ष ओलीले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए। अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको बताए।
“नेपाली सांगीतिक जगत्का एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो,” उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले आचार्यका नाममा सरकारले नयाँ काम शुरू गर्ने प्रतिबद्धता जनाए। “हामी बाँच्नेहरूले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ। उहाँको नाममा नेपाल सरकारले केही गर्नेछ। केही काम गर्ने प्रतिबद्धता गर्दछु,” उनले भने।

राप्रपा अध्यक्ष लिङ्देनले आचार्य कालजयी गीत, संगीतको धनी भएको बताए। उनले आचार्यलाई नेपाल र नेपालीले सधैँ स्मरण गरिरहने उल्लेख गरे।
नेपाली कांग्रेसका महामन्त्री थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भएको बताए। आचार्यको भौतिक शरीर नरहे पनि उनका सिर्जना कालजयी रहने उनको भनाइ थियो।
कांग्रेसका अर्का महामन्त्री शर्माले आचार्य भौतिक रूपमा नेपालीबाट टाढा भए पनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपालीमाझ नै रही रहने बताए। आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायका रूपमा नेपाली संगीत प्रेमीहरूको बीचमा, नेपालीहरूको बीचमा सधैँ अमर रही रहने उनको भनाइ थियो।

वरिष्ठ कलाकार नीर शाहले आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा आचार्यको योगदान अतुलनीय रहेको बताए। उनले संगीतकारमा हुनुपर्ने सबै गुणहरू भएको व्यक्तिका रूपमा चित्रण गरे। उनले संगीतको विकासका लागि सचेत मानिसको श्रेणीभन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति आचार्य रहेको उल्लेख गरे।
कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडे पनि उनका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताए। संगीत विश्वविद्यालयको देहावसान भएको उनको भनाइ थियो।
आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य विगत लामो समयदेखि अस्वस्थ थिए। आचार्यले झन्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। स्वरसम्राट् नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका हुन्। नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
