रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीको शव ल्याउन र क्षतिपूर्ति दिलाउन सरकार गम्भीर छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।

मंगलबार दिउँसो रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा मृत्यु भएका नेपालीहरूका परिवारले परराष्ट्र मन्त्री साउदसँग भेटघाट गरेका थिए। सिंहदरबारमा मन्त्री साउँदलाई भेट्दै उनीहरूले रुस–युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइदिन माग गरेका थिए।

उनीहरूसँगको भेटका क्रममा मन्त्री साउदले भने, “हामीले रसियन सेनामा भर्ती भएका नेपाली सेनाहरू जो दिवंगत भएका छन्। उनीहरूको पार्थिव शरीरलाई नेपाल कसरी ल्याउन सकिन्छ भन्नेबारे सरकारले छलफल अगाडि बढाएको छ।” 

रसियन सेनामा रहेका २४५ जनाका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा निवेदन दिएको जानकारी दिँदै उनले भने, “अझै कोही छुट्नु भएको छ भने उहाँहरूलाई हामीले वडा, पालिकाका माध्यमबाट अनलाइनमै आवेदन दिन भनेका छौँ।”

मन्त्री साउदले कोही रसियन सेनामा भर्ती भएको भए सम्बन्धित व्यक्तिको पासपोर्ट नम्बर, नागरिकता नम्बर, नाम, ठेगाना र पठाउने व्यक्तिलगायतका विवरण पठाउनसमेत आग्रह गरे।

“यसरी रसियन तथा विभिन्न जोखिमयुक्त देशहरूमा गएका युवाहरूको पीडा नै सरकारको पीडा हो, आम नेपालीको पीडा हो। सरकारले मान्यता नदिएका जोखिमपूर्ण ठाउँहरू, युद्ध भइरहेको ठाउँहरूमा रोक्न आग्रह गर्दै गएका भए फिर्ताका लागि मन्त्रालयलाई आवेदन दिन सकिन्छ,” उनले भने। 

नेपालसँग सम्झौता भएका बाहेकका देशमा भर्ती हुन नजान आग्रह गर्दै मन्त्री साउदले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न बाहेकले रुस जाँदा परराष्ट्र मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य लिनसमेत अपिल गरे।