मूलधारको राजनीतिमा ‘युटर्न’ सीके राउतको संसद् यात्रा

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका राउत पहिलोपटक जनप्रतिनिधिको रूपमा संसद् जान लागेका हुन्।

सप्तरी- विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष सीके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका राउत पहिलोपटक जनप्रतिनिधिको रूपमा संसद् जान लागेका हुन्। राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन। 

मतगणनाको अन्तिम परिणामअनुसार राउत ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए। सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गरे। कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो। 

को हुन् सीके राउत ?    
जनमत पार्टीका अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुन। संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उनी नेपाली राजनीतिमा प्रवेश गरेका हुन्। बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका ४३ वर्षीय राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका थिए । उनले ‘स्वतन्त्र मधेस’ स्वराजको अभियानसमेत चलाएका थिए।

स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाएका राउत पटकपटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत परे। गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा सहभागी भए। 

त्यसपश्चात् उनले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गरे। राउत नेतृत्वको जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रूपमा उदाएको देखिन्छ।