नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका लालबहादुर पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाको संरक्षणमा जुटेका छन्।
बेनी– उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका हुन्।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाको संरक्षणमा जुटेका छन्। २०७२ सालमा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुर्ख्यौली गीतको म्युजिक भिडियो तयार गरे। अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसकेका छन्।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जंगल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायत परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि संरक्षणमा जुटेको उनको भनाइ छ।
“मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र छायांकन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु,” पुनले भने।
पुनले तयार गरेको पुर्ख्यौली गीत हालै अन्नपूर्ण –८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायांकन गरिएको छ। उनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायत विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिएका छन्।
गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाको संकलन र गीत लेखन शुरू गरेका थिए। “गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाका पुस्तान्तरण हुन पाउँछन्,” उनले भने, “मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु।”
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उनको भनाइ छ। पुनका चारवटा सालैजो, पुर्ख्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ। म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायत भाकामा समेत गीत बनाउने पुनले तयारी गरेका छन्। उनले मगरहरूको पुर्ख्यौली गीतिसंग्रह पुस्तकसमेत प्रकाशन गरेका छन्। पुस्तकमा पुर्ख्यौली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
