माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै विरोध प्रदर्शन (तस्वीरहरू)

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

काठमाडाैँ– माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ।

बुधबार डिल्लीबजारमा भेला भई उनीहरूले भद्रकालीमा पुगी आन्दोलन गरेका हुन्। निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन्। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र खुला गर्, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर्, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर्, राष्ट्रिय मुक्ति क्रान्ति, हामीलाई रोक्ने तिमी को हो? गृहमन्त्री राजीनामा दे लगायतका प्लाकार्ड र नारा लगाई विरोध प्रदर्शन गरेका छन्।

माइतीघरलगायत क्षेत्रमा लगाएको अघिल्लो निषेधाज्ञालाई निरन्तरता दिँदै काठमाडाैँ जिल्ला प्रशासनले गत फागुन ५ मा थप दुई महिनाको निषेधाज्ञा तोकेको थियो।