समाचार चोरी गर्ने १८३ अनलाइन मिडियालाई प्रेस काउन्सिलले गर्‍यो कारबाही

अनुमति नलिई समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने) १८३ अनलाइन सञ्चार माध्यम तथा वेब-पोर्टललाई काउन्सिलले कारबाही गरेको छ।

काठमाडाैँ– प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष (आव)यता हालसम्म अनुमति नलिई समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने) १८३ अनलाइन सञ्चार माध्यम तथा वेब-पोर्टललाई कारबाही गरेको जनाएको हो।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ। "स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो। मिडियाका रूपमा दर्ता/सूचीकरण नभएका २९ वेब-पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ," काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो। बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ। बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ।

काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडिया विरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन्। पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासासहित ५३ वटा उजुरी दर्ता भएका र सोही अवधिमा अघिल्लो आवसमेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका काउन्सिलले जनाएको छ।