मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो।

काठमाडाैँ– मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ।

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए।

उनले आफूहरूको आन्दोलन जारी रहने पनि बताए। फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत माग उनीहरूले अघि सारेका छन्। साहुहरूको सम्पत्ति सुद्धीकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको अवदेश कसवाहले बताए।