काठमाडौँ महानगरमा २ लाख करदाताले तिर्दैनन् कर, बहाल कर नतिर्ने धेरै

दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।  

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ। 

महानगरमा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने गरेका हुन्। यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता छन्।  त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी छ। 

कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए। उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ। दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो। 

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरैले आलटाल गरिरहेका छन्। दुई वर्षअघि पनि २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो। उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तिर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ।    

चालु आवमा १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले हालसम्म पाँच अर्ब ८० करोड ५१ लाख ९०  हजार राजस्व असुल गरेको छ।