गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन टेन्डर आह्वान

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।

चितवन– भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ। रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महानगरले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेन्डरको प्रस्ताव ३१औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए। पहिलो चरणमा १० हजार जना क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।