तराई–मधेशमा पिउने पानी र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले चुरे दोहन रोक्न, जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन आग्रह गरिन्।

काठमाडौँ– तराई–मधेश क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। 

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेशका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्। 

चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेशका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने बताइन्। सांसद जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गरे। सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रूपमा विकास गर्न आग्रह गरिन्। 

सांसद बिमला घिमिरेले मिटरब्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सुमित्रा बिसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनः निर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिए।