गण्डकीमा लाखौँ रुपैयाँ खर्चेर डीपीआर बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। तर कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।
गण्डकी– लाखौँ रुपैयाँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। वर्षौंसम्म आयोजना कार्यान्वयन नहुँदा कतिपय डीपीआर काम नलाग्ने भएका छन्। अध्ययनबिना नै डीपीआर बनाउँदा केही आयोजनाको निर्माणस्थल परिवर्तन गर्नुपर्ने स्थितिसमेत आएको देखिन्छ।
पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणासहित गण्डकी प्रदेश सरकारले चार वर्षअघि ‘डीपीआर’ तयार पार्यो। उक्त रंगशालालाई सरकारले प्रदेश गौरवको आयोजनामा समेत समेट्यो। अहिले पशुपतिघाटमा रंगशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार नयाँ जग्गाको खोजीमा लागेको छ।
विसं २०७१ देखि नै त्यस ठाउँमा रंगशाला निर्माणका लागि पहल थालिए पनि उक्त आयोजना डीपीआरमा सीमित बन्ने देखिएको छ। रेखदेख र संरक्षण नहुँदा रंगशालाको जग्गा नदी कटानको जोखिममा परेको प्रदेश खेलकुद परिषद्का सूचना अधिकारी तोपलाल भुसालले बताए।
पशुपतिघाटमा रंगशालाको योजना दिगो हुने नदेखिएपछि निर्माण अगाडि नबढेको प्रदेशस्थित सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेती नदीले जग्गा कटान गरिरहेकाले अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउन पशुपतिघाट जोखिमपूर्ण देखिएको उनको भनाइ थियो।
भुसालले पशुपतिघाटमा क्रिकेट रंगशालाको डीपीआर बने पनि भौगोलिक कारणले रंगशाला निर्माण गर्न अनुपयुक्त देखिएको बताए। रंगशालाका लागि नयाँ जग्गा खोजी र पहिचान गर्न समिति गठन गरिएको भन्दै हालसम्म ठोस प्रगति भने नभएको उनले जानकारी दिए।
“परिषद्ले जिल्ला तहमा सम्भावित जग्गाको खोजी गरिरहेको छ, जग्गा व्यवस्थापन भएपछि रंगशाला निर्माण अगाडि बढ्छ,” भुसालले भने, “यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश नीति तथा योजना आयोगले पनि चासो लिएको छ।” चालु आवमा सो ठाउँमा रंगशाला निर्माणका लागि बजेट नछुट्टिएको उनले जानकारी दिए।
गत आवमा २० लाख रुपैयाँ विनियोजन भएकामा काम नभई बजेट फिर्ता भएको थियो। नयाँ जग्गा प्राप्तिका लागि चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। यहाँ रंगशाला बनाउन स्थानीयले दिएको जग्गा भने बेवारिसे बनेको छ। संरक्षण नहुँदा नदी कटानले जग्गा नासिँदै गएको स्थानीयको भनाइ छ। सो ठाउँमा रंगशालाका लागि प्रदेश सरकारले १७४ रोपनी जग्गाको भोगाधिकार ल्याएको थियो।
जग्गाकै कारण पोखरालाई क्रिकेटको गन्तव्य शहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने प्रदेश सरकारको घोषणा अन्योलमा परेको छ। पशुपतिघाटमा निर्माण घोषणा गरिएको क्रिकेट रंगशालामा एक अर्ब ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान मन्त्रालयले गरेको थियो। विस्तृत परियोजना प्रतिवेदनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने गरी पूर्वाधार तयार पारिने उल्लेख छ।
रंगशालामा १३० भीभीआईपी सिट, एक हजार दुई भीआईपी र स्पेसल, नौ सय सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो। स्रोत जुटाएर तीन–चार वर्षभित्रमा निर्माण गर्ने प्रदेश गौरवको आयोजना ‘डीपीआर’मै थन्किएर बसेको छ।
बागलुङको बागलुङ नगरपालिका–१ स्थित बांगेचौर खेलमैदानलाई रंगशाला बनाउने चर्चा दशकौँ अघिदेखि चल्दै आएको छ। राजनीतिक नेतृत्व तहबाटसमेत बांगेचौरलाई रंगशालाका रूपमा विकास गरिनुपर्ने आवाज उठिरहन्छ। पाँच वर्षअघि नगरपालिका र जिल्ला खेलकुद विकास समिति मिलेर २५ लाख रुपैयाँ लागतमा डीपीआर तयार पारिएको थियो।
चालिस रोपनी क्षेत्रफलमा बन्ने रंगशालाका लागि ११ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। रंगशालामा प्यारापिट, फुटबल, टेनिसमैदान, टिकटकक्ष, शौचालय, पार्किङलगायतका संरचना बन्ने डीपीआरमा उल्लेख गरिएको छ। हालसम्म उक्त आयोजना पनि डीपीआरमा नै सीमित भएको छ।
रंगशाला बन्ने/नबन्ने कुनै टुंगो नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए। बांगेचौरलाई रंगशाला बनाउने विषय चर्चामा मात्र सीमित रहेको उनको भनाइ थियो।
“अहिले कतैबाट पनि बजेट परेको छैन, यस विषयमा समितिलाई कुनै जानकारी पनि आएको छैन, स्रोत सुनिश्चित नभई रंगशाला बनाउने मात्र भनेर हुँदैन,” खड्काले भने, “रंगशालाका लागि प्रदेश र संघ सरकारको ठूलो लगानी चाहिन्छ।”
डीपीआर बनेपछि रंगशाला निर्माण शुरू हुने खबरले यहाँका खेलप्रेमी पनि उत्साहित भएका थिए। पाँच वर्षको निर्माण लक्ष्य पूरा भइसक्दा पनि भुइँ सम्माउने र तारजाली लगाउनेबाहेक बांगेचौरमा कुनै काम हुन नसकेको खड्काले बताए।
कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ। वर्षायाममा त बांगेचौर घाँसेमैदानमा परिणत हुने गरेको छ। बांगेचौर सदरमुकाममा रहेको एक मात्र खेलमैदान हो। फुटबल खेलका लागि मापदण्डयुक्त खेलमैदान भएकाले पनि बांगेचौरलाई रंगशालाका रूपमा विकास गर्नुपर्नेमा समितिका अध्यक्ष खड्काले जोड दिए। उनका अनुसार पछिल्लो समय यहाँ फुटबल, क्रिकेटलगायत प्रतियोगिता नियमित हुन थालेका छन्।
बागलुङ नगरपालिकाले आधारभूतस्तरको रंगशाला बनाउने भनेर बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन सकेको छैन। रामरेखा सामुदायिक वन क्षेत्रका रुख कटानका लागि अनुमति नपाएकाले मैदान विस्तार गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने प्रदेश सरकारको पाँच वर्ष पहिलेको घोषणा पनि अलपत्र परेको छ। तालिम केन्द्रका लागि बर्सेनि प्राविधिक अध्ययन र डीपीआर निर्माणका लागि बजेट छुट्टिने गरे पनि खर्च नभई ‘फ्रिज’ भइरहेको छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको युवा तथा खेलकुद महाशाखाका प्रमुख खिमबहादुर भुजेलले जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको बताए। “रंगशालाका लागि चाहिने जग्गाको नापजाँच पनि भइसकेको छ। स्थानीय पालिकाले सहमति दिएको छ,” उनले भने, “संघ सरकारबाट जग्गाको भोगाधिकार पाएपछि खेलमैदानको प्राविधिक अध्ययन र डीपीआरको काम शुरू हुन्छ।”
मुस्ताङको भूगोल विशिष्ट प्रकृतिको भएकाले विज्ञहरूमार्फत भौगर्भिक अध्ययन गरेपछि मात्र पूर्वाधार निर्माण शुरू गरिने महाशाखा प्रमुख भुजेलले बताए। उनका अनुसार जग्गा व्यवस्थापन भएपछि डीपीआरमार्फत फुटबल मैदान, कभर्डहलदेखि आवश्यक खेल पूर्वाधार बनाउने योजनामा प्रदेश सरकार छ। प्रसिद्ध मुक्तिनाथ मन्दिरको दक्षिणपट्टि छिङ्गुर भन्ने ठाउँमा जग्गाको खोजी गरिएको उनले जानकारी दिए।
थोरङ्ला भन्ज्याङ जाने बाटोमा ३७ सय मिटरभन्दा बढीको उचाइमा छिङ्गुर क्षेत्र पर्दछ। उच्च स्थानमा खेलाभ्यासका लागि ‘हाइअल्टिच्युड’ तालिम केन्द्र बनाउने गरिन्छ। अक्सिजन कम भएको ठाउँमा अभ्यास गरेका खेलाडीले अक्सिजन बढी भएको ठाउँमा राम्रो खेल प्रदर्शन गर्न सक्ने खेल विज्ञहरू बताउँछन्। नेपालमा दुई हजार पाँच सयदेखि चार हजार मिटरसम्मको उचाइमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र बनाउन सकिने अध्ययनले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
