जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्।
बागलुङ– फागुन १५ अर्थात् मगर एकता दिवसको दिन ११ बज्नै लागेको थियो। बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्याली निस्कियो। त्यो र्यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए। केहीले ढोलकी, केहीले दमाहा त केहीले सनई र झ्याली बजाउँदै हिँडिरहेका थिए।
र्यालीमा झन्डै दुई हजारको हाराहारीमा मगर समुदायका विभिन्न भेषभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धा पनि थिए। र्यालीको बीचमा बजेको बाजाको तालमा अधिकांश व्यक्ति घुम्दै र झुल्दै नाचिरहेका थिए। बजारको मुख्य सडकमा हिँडिरहेको र्यालीमा महिला पञ्चेबाजा टोलीमा धेरैको नजर तेर्सिएको थियो। पुरुषले बजाउँदै आएको पञ्चेबाजा महिलाले बजाएको देख्दा बजारवासी अचम्म मान्दै थिए।
र्यालीमा बाजा बजाउनेको संख्या १० थियो। गाउँ टोलमा बाजा बजाउने प्रचलन घट्दै गएपछि मौलिक संस्कृति जगेर्नाका लागि बागलुङ बजारस्थित देउरालीचोका आमा समूहले पञ्चेबाजा बजाउन थालेका हुन्।
विवाह, व्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको सट्टा रेकर्डेट गीत बजाउन थालेकाले पुर्खौंदेखि बजाइँदै आएको पञ्चेबाजा लोप हुने स्थितमा पुगेका छन्। पहिले जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक मात्रामा पञ्चेबाजा बज्ने गरे पनि पहिलेको जस्तो प्रचलन अहिले छैन।
खासगरी परियार समुदायले बजाउने पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। परियारसँगै मगर समुदायका युवा पनि विदेश पलायन भएपछि बाजा बजाउने जनशक्ति अभाव हुन थालेको हो।
जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्। मगर महिलाहरू एकताबद्ध भएर बाजा संरक्षण गर्न थालेको उनको भनाइ थियो।
पहिले गाउँमा प्रशस्त बाजा बजाउने टोली भेटिने गरे पनि हिजोआज कोही पनि पाउन छोडेपछि महिलाले नै यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागेको अध्यक्ष थापाले बताइन्।
“सबै युवा विदेश गए, बाजा बजाउने कोही छैनन्, गाउँघरमा र बजारमा कसैको विवाह, छैटी, भातखुवाइ र व्रतबन्ध हुँदा बाजा बज्नै छाडे, त्यही भएर हामी महिला दिदीबहिनी मिलेर पञ्चेबाजा संरक्षण गर्नुपर्छ भनेर लागेका हौँ, अब आमा समूहले पनि बाजा संरक्षण नगरे मौलिक संस्कृति हराउने भयो, धेरैले राम्रो गर्नुभयो भनेर हौसला पनि दिएका छन्। हाम्रो समूहमा ५० जनाभन्दा धेरै महिला दिदीबहिनी छौँ, सबैले सिक्ने र बजाउने गर्न थालेका छौँ, गत भदौदेखि नै बाजा बजाउन शुरू गरेका हौँ।”
बाजा समूहमा कला श्रीस ढोलक बजाउँछिन्। शुरूमा भकुन्डे मगर पञ्चेबाजा समूहबाट आफूहरूले सिकेको सुनाउँदै उनले एक लाख ५० हजार रुपैयाँमा म्याग्दीबाट बाजा सेट खरिद गरेर अहिले व्यावसायिक रूपमा बजाउन थालेको बताइन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै श्रीसले बाजा कुनै जात र समुदायले मात्रै नभई कला भएकाले जुनसुकै जातिले बजाउन सकिने उल्लेख गरिन्।
“कसैले लाज मान्नु हुँदैन, चोर्न, लुट्न र ढाँट्न पो लाज मान्ने, आफ्नो कला देखाउन कोही पनि हिचकिचाउनु हुँदैन, हामीहरूले अहिले पनि बाजा बजाउन सिक्दै छौँ, बजाउने ठाउँमा जान्छौँ, पोखरा, चितवनसम्म पुगियो विवाहको बाजा बजाउन,” उनले भनिन्, “बागलुङ नगरपालिकाले पनि राम्रो सहयोग गर्यो, नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ दिएपछि बाजा किन्यौँ, किन्नभन्दा सिक्न धेरै खर्च लाग्दो रहेछ, अहिले धेरै दिदीबहिनीले सिकिसकेका छन्। अब खासै समस्या छैन।”
त्यो समूहमा वसुन्दरी थापा सनई बजाउँछिन्। बाजाभन्दा सनई बजाउन केही कठिन हुने भए पनि उनले निकै लयात्मक तरिकाले बजाउँछिन्। सानैदेखि बाँसुरी र सनई बजाउन चासो दिने थापाले आफूलाई सिक्नका लागि धेरै समय नलागेको बताइन्।
जुनसुकै गीतमा पनि सनई बजाउन सक्ने उनको जिकिर थियो। एउटा विवाहमा बाजा बजाएबापत ३० हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको र यो रकममध्ये केही महिला समूहमा राख्ने र केही आफूहरूले बाँड्ने गरेको थापाले बताइन्।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले इच्छाशक्ति भए महिलाले पनि जुनसुकै काम गर्न सक्ने बताए। आमा समूहले बाजा बजाउन तदारुकता देखाएपछि नगरपालिकाले बाजा खरिदका लागि सहयोग गरेको र उनीहरूलाई थप सहयोग पनि गरिने उनले जानकारी दिए। पहिले एउटा जातिले बजाउने बाजा पछिल्लो समय अन्य समुदायले पनि बजाउन थालेको र महिलाले पनि बजाउनु अनुकरणीय भएको प्रमुख श्रेष्ठको भनाइ थियो।
“जागरूक महिलाहरू प्रशिक्षण लिएर बजाउन सक्ने हुनुभएको छ, बागलुङमा थप एउटा संस्कृतिको विकास भएको छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ। उहाँहरूलाई थप सक्रिय बनाउनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ, आवश्यक जनशक्ति तयार भएर ठाउँ ठाउँमा बजाउन जाने र आम्दानी पनि गर्न थाल्नुभएको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
