गाजामा खाद्य सहायता पर्खिरहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, १०४ जनाको मृत्यु

सहायता लिन सडकमा पर्खिरहेका प्यालेस्टिनीहरूको भिडमा इजरायली सेनाले बम आक्रमण गरेको हो।

रफाहमा निःशुल्क खानाको लागि लाइनमा लागेका प्यालेस्टिनी / तस्वीर: एपी

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा १०४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, उक्त आक्रमणमा परेर ७६० भन्दा धेरै घाइते भएका छन्। मृतक र घाइतेहरूलाई अलशिफा अस्पतालमा लगिएको छ। यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अलराशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो। गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको संख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन्।

गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरू भएदेखि मृत्यु हुनेको संख्या ३० हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ। अक्टोबर ७ का दिन दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।