हाम्रो सामाजिकीकरणले परिवारको नाममा अझै पनि महिलालाई समान, स्वतन्त्र र उन्मुक्त व्यक्तिको रूपमा स्विकार्न सकिरहेको छैन। पुरुषहरू आफूखुशी जताततै हिँड्न र निर्णय गर्न स्वतन्त्र छन्।
वैवाहिक सम्बन्ध तथा परिवारलाई एउटा संस्थाका रूपमा चित्रण गरिँदै आएको छ। यसका सदस्यहरूको समृद्धि र सुस्वास्थ्य यसको उद्देश्य हो। परिवारमार्फत सिंगो मानव समाजको समृद्धि र निरन्तरताको अपेक्षा गरिन्छ। तर यति महानतम् उद्देश्यका लागि एकीकृत रहने महिला र पुरुषप्रति समाजमा पहिले समान धारणा थिएन। पछिल्ला केही दशकमा समान हुन् भन्ने धारणाको विकास भए पनि व्यवहारमा भने पूर्णतया लागि भएको देखिँदैन। अझ विशेष गरी तेस्रो विश्वमा महिला र पुरुष समान हुन् भन्ने धारणा र व्यवहारबीच दूरी धेरै देखिन्छ। परिणामतः परिवार र वैवाहिक सम्बन्धको नाममा महिलाले धेरै कष्टकर जीवन बाँच्दै आएका छन्।
परिवार तथा वैवाहिक जीवनभित्र महिलाहरू पुरुषसरह समृद्ध हुन सकेनन्। संस्कार र व्यवहारको नाममा महिलालाई कस्ने र पुरुषको इच्छा र आवश्यकता पूरा गर्ने साधनका रूपमा मात्र हेरियो। परिवारको पैरवी गर्नेहरूले समाजमा देखिएको वा तोकिएको भूमिकालाई श्रमको विशिष्टीकरणको पाटोबाट सही रहेको दलिल पेश गर्लान्। कार्य सम्पादन प्रभावकारी बनाउन श्रम विशिष्टीकरण आवश्यक र उत्तम विधि हो। तर श्रम विशिष्टीकरणमा संलग्न हुनु व्यक्तिको छनोट हो, यसमा कसैलाई पनि बाध्य पार्न सकिँदैन।
तर परिवार र वैवाहिक जीवनको सवालमा महिलाको भूमिका स्वतन्त्र छैन। परिवारभित्र महिलाको भूमिका निश्चित छ, जुन भूमिका नयाँ जिम्मेवारी लिँदैमा बदलिँदैन। यसको कारण आजको जटिल समाज वा आधुनिक समाजमा अगाडि बढ्ने खोज्ने कतिपय महिलाको दैनिकी अझै बोझिलो र कठिन भएको छ। ती महिलामाथि अनेकन् प्रहार र आलोचना हुन्छ। महिलाप्रति नकारात्मक र क्रूर हुन हाम्रो सामाजिकीकरणले सिकाएको हो भन्दा अतिशयोक्तिपूर्ण हुँदैन।
महिलाप्रतिको सोच र दृष्टिकोण सदियौँदेखि सामाजिकीकरणको नाममा पुस्तान्तरण हुँदै आएको छ। सामाजिकीकरणले निर्मित मनोविज्ञान यति जबरजस्त हुन्छ कि त्यो कतिपय अवस्थामा प्राज्ञिक ज्ञानले पनि छिचोल्न सक्दैन। हालसालै काठमाडौँ जिल्ला अदालतबाट आएको फैसलाले कहीँ न कहीँ यही मनोविज्ञान प्रतिविम्वित गर्छ। धादिङकी एक महिलाले सम्बन्ध विच्छेद गर्न दर्ता गरेको मुद्दामा परिवार बचाउने नाममा महिलाको उजुरीविरुद्ध फैसला सुनाइएको खबर मिडियामा प्रकाशित छ।
परिवार तथा वैवाहिक सम्बन्ध सुमधुर र सहज रहनुपर्छ। परिवारलाई समृद्ध र निरन्तर अगाडि बढाउने विधि यो नै हो। आखिर परिवारका सदस्यहरू एक अर्काबीच असन्तुष्ट छन् भने तेस्रो पक्षको निर्णय वा हस्तक्षेपले त्यो परिवार बच्दैन। प्राविधिक रूपमा त्यो परिवार सग्लो देखिए पनि त्यसले परिवारका सदस्य र समाजलाई समृद्ध बनाउन सक्दैन। सम्झौता र करकापमा स्वीकार गरिएको सम्बन्धमा अरू जटिलता हुन सक्छन्। तर यो कुरा पुरुषवादी सोचबाट निर्मित सामाजिकीकरणको प्रयासले बुझ्दैन। परिणामतः पहिले नै कमजोर महिलामाथि थप प्रताडना दिने काम मात्र हुन जान्छ।
तर महिला आफैँमा कमजोर व्यक्ति वा मानिस होइनन्। तर विभिन्न अध्ययनले प्राकृतिक रूपमा महिला नै बलिया हुन्छन् भनेर पुष्टि गरेको छ। तर प्राकृतिक वा भौतिक रूपले मात्र समाजमा शक्ति निर्धारण हुँदैन। समाजमा व्यक्तिको शक्ति निर्माणमा सामाजिक संरचनाको महत्त्वपूर्ण भूमिका हुन्छ। हाम्रो समाज पितृसत्तात्मक समाज हो, जहाँ पुरुषको लागि अनुकूल संस्कार र विधिहरू निर्माण गरिएको छ। सामाजिक संरचना जसको लागि अनुकूल छ, त्यही समूह, लिंग, वर्ग तथा व्यक्ति नै समाजमा शक्तिशाली हुन्छ। त्यो अर्थमा प्रतिकुल सामाजिक संरचनाका कारण महिला कमजोर हुन पुगेका छन्। न्यायिक निकायले पनि उनीहरूको पीडा र मर्म नबुझ्दा झनै समस्यामा परेका छन्।
हाम्रो सामाजिकीकरणले परिवारको नाममा अझै पनि महिलालाई समान, स्वतन्त्र र उन्मुक्त व्यक्तिको रूपमा स्विकार्न सकिरहेको छैन। पुरुषहरू आफूखुशी जताततै हिँड्न र निर्णय गर्न स्वतन्त्र छन्। महिलाको भूमिका अझै पनि घरको चार पर्खालभित्र नै सीमित रहोस् भन्ने खालको छ। मनोविज्ञानको विकास र दृष्टिकोण निर्माणको प्रमुख आधार हो सामाजिक संरचना। हाम्रो सामाजिक संरचनाले पुरुषमा अहम् मात्र दिएको छैन, कुनै पनि महिलाले स्वतन्त्र भएर लिने निर्णय वा पुरुषको हैकमविरुद्ध उठाउने आवाजमा समेत समस्या देख्छ। हाम्रो सामाजिक संरचना र त्यस अनुरूपको हाम्रो सोचले महिलालाई शक्तिशाली भएको देख्नै सक्दैन। अर्कोतिर, दुर्बल महिलामाथि संस्कार र नैतिकताको नाममा उत्पीडन गर्छ। दुर्बलतामाथि अत्याचार थपिएपछि मानिसको अगाडि विकल्पहरू अत्यन्तै सीमित हुन्छन्। कानूनी विधि र उपचार खोज्ने हिम्मतसम्म उनीहरूसँग हुँदैन। न्यायको अपेक्षा राखेर गइने संस्थाबाटै अन्याय भएपछि त जीवन थप पीडादायी हुन्छ।
कुनै पनि न्यायिक निकाय वा संस्थाले आफैँ निर्णय गर्ने होइनन्। त्यहाँ पनि निर्णय मान्छेले त आखिर मान्छेले नै हो। जब हाम्रो सामाजिकीकरणबाट प्रभावित भएर ती व्यक्तिहरू तटस्थ हुन सक्दैनन्। त्यसले सामाजिक संरचनाबाट पीडित महिलाहरू अझ पीडित हुन जान्छन्। पितृसत्ताको जगमा उभिएको समाजले महिलाको खुसीमा धेरै हदसम्म पूर्वाग्रह साँधेर बस्छ। यी कुरा देखेका र भोगेका धेरै महिलाले आफ्नो पीडा खुलेर भन्न सक्दैनन्। भने पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना न्यून देखेपछि, समाजमा आफ्नो गुनासो वा पिडाको सुनुवाइ नहुँदा कतिपय महिलाले आत्महत्या गर्ने गरेका छन्। न्यायको निम्ति पुगिएका ठाउँबाट पनि महिलाको आवाज नसुनिँदा समानताको निम्ति महिलाले अझ धेरै संघर्ष गर्नुपर्ने देखिन्छ।
आजको आधुनिक समाजमा काम वा कुनै पनि जिम्मेवारी व्यक्तिको निजी छनोटका विषय हुन्। तर थोरै महिलाले मात्र आफ्नो चाहनाअनुरूप काम रोज्न पाएका छन्। ती जिम्मेवारी बहन गर्दा परम्परागत रूपमा महिलामाथि थोपरिएका जिम्मेवारीबाट मुक्त हुन दिइएको छैन। पहिला महिलाको जिम्मेवारी घरका सम्पूर्ण काम भ्याउनु हुन्थ्यो। अहिले कुनै महिलाले जागिर खाए घरसँगै कार्यालयको काम पनि भ्याउनु पर्छ। बाहिरी दुनियाँ चिहाउन खोज्ने थोरै महिलाले मात्र घरपरिवारको साथ र सहयोग पाएका छन्।
महिलाको जीवनलाई बोझिलो बनाउने हाम्रो व्यवहार सामाजिकीकरणसँगै जोडिएर आएको हो। हाम्रो सामाजिकीकरणले महिलालाई पुरुषसरह कहिले पनि देखेन र अझ पनि समाजमा महिलालाई दोस्रो दर्जामा राख्न खोजिरहेको छ। पहिलो दर्जाको मानिस ठान्ने पुरुषको लागि महिला अझै पनि एक कामदार र भोगविलासको साधन हुन्। यस्तो सोच र व्यवहारले कुनै न कुनै रूपमा महिलालाई शोषण गरिरहेकै हुन्छन्।
धेरै शिक्षित पुरुषले पनि महिलालाई आफूसरह देख्न सकिरहेका छैनन्, भलै उनीहरू महिला र पुरुषबीच विभेद अनुचित हो भन्ने अभिव्यक्ति देलान्। सामाजिकीकरणमार्फत निर्मित पुरुषवादी चिन्तन लैंगिक हिसाबले पुरुषमा मात्र हुन्छ भन्ने हुँदैन। सामाजिक संरचनामार्फत निर्माण भएकाले यो चिन्तन महिलामा पनि हुन्छ।
शिक्षित महिलामा समेत यस्तो सोच देखिन्छ। शिक्षित महिला तथा पुरुषमा समेत पुरुषवादी वा एकामनावादी सोच किन पनि छ भने सदियौँदेखि सामाजिकीकरणमार्फत निर्मित सोच र मनोविज्ञान हो यो। हाम्रो मनोविज्ञान निर्माणमा शैक्षिक संस्थाभन्दा बढी परिवार र समाजको भूमिका प्रभावकारी रहन्छ। त्यसैले, प्राज्ञिक सफलता तथा योग्यताको आधारमा प्राप्त गरेका पदमा हामी विवेकभन्दा बढी आफ्ना आग्रह प्रयोग गरिरहेका हुन्छौँ।
चिया पसलमा सुनिएका गफदेखि मिडियामा आएका घटनाक्रमले हाम्रो समाजको मनोविज्ञान दर्साउँछ। असमानताका विविध रूपलाई प्रश्रय दिने हाम्रो मनोविज्ञानले महिलालाई पनि सम्मान गर्दैन। जसलाई आफू बराबर देखिँदैन, तीमाथि अन्याय र उत्पीडन स्वतः गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
