कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्य बताउँछन्।
खोटाङ– जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन्। केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन्।
विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले निःशुल्क औजारसमेत उपलब्ध गराएका छन्। दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरूले धागोबाट निर्माण गरिने ढाकाटोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नांलो, डालो, फिपी तथा बाँसकै भाटाबाट निर्माण गरिने मुडा, कुर्सी, टेबललगायतका घरायसी सामग्री उत्पादन गर्छन्।
कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्यले बताए।
“जिल्ला कारागारमा १५६ जना कैदीबन्दी छन्। उनीहरू सबै जना केही न केही व्यावसायिक काममा आबद्ध छन्। धागोका काम गर्ने ४५ देखि ५० कैदीबन्दी छन्। उनीहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री भएको छैन भन्ने छ,” उनले भने, “बजारमा सस्तो मूल्यको रेडिमेड (तयार गरिएको) ढाकाटोपी पाउँछ। कारागारका कैदीबन्दीले उत्पादन गरेजस्तो गुणस्तरीय पनि छैन। तर मान्छेले सोही सस्तो मूल्यको ढाकाटोपी खरिद गर्दा कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएको हो भन्ने हाम्रो ठम्याइ छ।”
आफूहरूले उत्पादन गरेका ढाकाटोपी प्रतिगोटा फरक–फरक गुणस्तरको फरक–फरक मूल्य ३००, ६०० र ८०० रुपैयाँमा बिक्री गर्ने गरिएको कैदीबन्दीले बताएका छन्। जबकि, कारागारका कैदीबन्दीले उत्पादन गरेका सोही ढाकाटोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकले एक हजार ५०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।
कारागारमा रहेका कैदीबन्दीमध्ये ४३ जनाले ढाकाटोपी, सल र पर्स पाँच–पाँच जना तथा रुमाल तीन जनाले बुन्ने गरेको जनाइएको छ। उनीहरूले उत्पादन गरेका ढाकाटोपी दिक्तेल बजारका विभिन्न पसल, त्रिधार्मिकस्थल हलेसी, ऐसेलुखर्क लगायतका हाटबजारमा व्यापारीहरूले बिक्रीका लागि लैजाने गरेका छन्। यद्यपि त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेड टोपीका कारण कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपीले बजार नपाएको जनाइएको छ ।
कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्रीका लागि आफूहरूले समेत बजार तथा ग्राहक खोजी गरिदिने गरेको जेलर आचार्यले बताएका छन्। कारागार अनुगमन तथा भेटघाटका लागि आउनेलाई चिनोका रूपमा कैदीबन्दीले नै उत्पादन गरेका ढाकाटोपी खरिद गरेर दिने गरिएको जेलर आचार्यको भनाइ छ।
आफूहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएपछि करिब तीन हजार थान गोदाममा थन्क्याएर राखिएको चौकीदार कर्णबहादुर बस्नेतले बताएका छन्। “अधिकांश कैदीबन्दी सिर्जनशील तथा व्यावसायिक काममा आबद्ध छौँ। तर हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ। परिबन्दले हामी जेल जीवन बिताउन बाध्य छौँ। हाम्रा पनि घरपरिवार छन्। उनीहरूको गर्जो टार्नकै लागि भए पनि व्यावसायिक काम गर्छौं। तर बिक्री नहुँदा समस्या भएको छ,” उनले भने, “हामीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न सबैको सहयोग आवश्यक छ। यसमा स्थानीय तथा संघीय सरकारले समेत ध्यान दिन जरुरी छ।”
कारागारमा रहेका कैदीबन्दीमध्ये बाँसका सामग्री निर्माण गर्ने कैदीबन्दीले भने राम्रो आम्दानी गर्ने गरेको जेलर आचार्यले बताए। “कैदीबन्दीले उत्पादन गरेका बाँसका सामग्री जिल्लाभित्र तथा बाहिरसमेत निर्यात हुने गरेको छ। उनीहरूले उत्पादन गरेका बाँसका सामग्रीमध्ये पनि सबैभन्दा बढी मुडा बिक्री हुने गरेको पाइएको छ,” उनले भने, “मुडा उत्पादन गर्ने कैदीबन्दीलाई भ्यानभ्याई भएको देखिन्छ। उनीहरूले पकेट खर्च गरेर पनि मासिक सात–आठ हजार रुपैयाँ बचत गर्ने गरेको पाइएको छ।”
बाँसको सिन्का (भाटा खिपेर निर्माण गरिने सानो आकारको डण्डी) बाट निर्माण गरिने १७ इन्चको मुडा ६००, १८ इन्चको ७०० र २४ इन्चको एक हजार २०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। कारागारमा बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री बनाउने कैदीबन्दी ३५ जना रहेका छन्। कैदीबन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन्। उनीहरूले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराजलगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ।
महिला ३३ र पुरुष ६६ जना गरी ९९ जना कैदीबन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला ६ जना तथा पुरुष १५० जना रहेका छन्। दिक्तेलस्थित थामखोरेमा रहेको जिल्ला कारागारको भवन तथा पर्खाल जीर्ण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
